12 Sep, 2023
महानगरीय प्रहरी आयुक्तको कार्यालयद्वारा “सातौं महानगरीय प्रहरी दिवस – २०६९”को उपलक्षमा बुधबार आयोजित सडक खुला दौड प्रतियोगिताको ५ कि.मी. दौडको उपाधी सशस्त्र प्रहरी बलकी कान्छीमाया कोजुले हात पारेकी छिन् । उनले उक्त दूरी १८ मिनट ३२.५९ सेकेन्डका साथ पुरा गरेकी थिईन् । सो दूरीको स्पर्धामा सशस्त्रकै कृष्णेश्वरी सिन्तकला र गिता खत्री क्रमशः दोश्रो र तेश्रो भए । उक्त दूरी पार गर्न सिन्तकलाले १९ मिनट ५०.६४ सेकेन्ड र खत्रीले २० मिनट २४.८० सेकेन्डको समय लगाए ।
रत्नपार्क स्थित महानगरीय प्रहरी आयुक्त कार्यालयबाट सुरु भएको प्रतियोगिताको पुरुष १० कि.मी. सडक दौडमा नेपाली सेनाले आफ्नो वर्चस्व राख्यो । सेनाका कल्याण वानियाले १० कि.मी.को दूरी ३० मिनट १९.३२ सेकेन्डको समयका साथ पुरा गर्दै प्रथम भए । सेनाकै लेटर सिंह खत्रीले ३० मिनट २१.९६ सेकेन्डको समय निकाल्दै दोश्रो भए भने कृष्ण बस्नेत ३० मिनट २९.६० सेकेन्डका साथ तेश्रो भए ।
प्रतियोगिता अन्तरगत भेट्रान्सको ५ कि.मी. सडक दौडको उपाधी भने काठमाण्डौका खेलाडीहरुको हकमा गयो । उक्त स्पर्धामा काठमाण्डौका रामकृष्ण् महर्जन १८ मिनट ३०.६४ सेकेन्डका साथ प्रथम, काठमाण्डौकै महेन्द्रमान महर्जन १८ मिनट ४९.२२ सेकेन्डका साथ दोश्रो र काठमाण्डौकै बुद्धविर लामा २० मिनट ४६.५० सेकेन्डका साथ तेश्रो भए ।
प्रतियोगिताको प्रहरी महानिरीक्षक कुवेर सिंह रानाले एक समारोहा विच उद्घाटन गर्नु भएको थियो ।
प्रतियोगितामा महिला तर्फ ३३ खेलाडीहरुको सहभागीता रहेको थियो । यसैगरि पुरुष तर्फ १४८ र भेट्रान्स तर्फ २० खेलाडीहरुको सहभागीता रहेको थियो ।