12 Sep, 2023
माउन्टेन गेम्स् नेपाल, प्राकृतिक दृष्टिकोणले नै पर्वतीय तथा पर्यटकीय खेल विकासका लागि महत्वपूर्ण स्थान भएको भन्दै पर्यटन ब्यवसायी तथा खेलविज्ञहरुले नेपाललाई पर्यटकीय खेलको केन्द्र विन्दुका रुपमा अगाडी बढाउन सबैको समन्यवकारी भूमिका आबश्यक रहेको औंल्याएका छन् ।
नेपाल पर्वतीय तथा रक क्लाईम्बिङ स्पोर्टस् एसोसिएसनले आज काठमाडौंमा आयोजना गरेको ‘टुरिजम स्पोर्टस् इन नेपाल’ अन्तरक्रियामा विज्ञहरुले खेल सङ्घ संस्था तथा पर्यटन सङ्घ संस्थाहरुबिच आपसी समन्वय आबश्यक रहेको बताएका हुन् ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव युवराज लामाले छोटो समयमै नेपाल पर्यटकीय खेलका लागि चर्चित भइसकेको र आगामी दिनमा नेपाललाई पर्यटकीय खेलको विकास लागि राष्ट्रिय खेलकुद परिषद, नेपाल पर्यटन बोर्ड, पर्यटन मन्त्रालय, खेलकुद मन्त्रालय तथा खेल सङ्घ र पर्यटन ब्यवसायीहरुबीच आपसी सम्बन्ध राम्रो हुन आबश्यक रहेको बताउनुभयो ।
सदस्य–सचिव लामाले आफुहरुले पहिलो पटक पर्वतीय खेलकुद महोत्सव समेत गरीसकेको स्मरण गर्दै आगामी दिनमा यसलाई निरन्तरता दिनुका साथै पर्यटन क्षेत्रको सहयोग पाउनेमा विश्वस्त रहेको बताउनुभयो ।
कार्यक्रममा (नेकपा) एमालेका खेलकुद विभाग प्रमुख कर्ण बहादुर थापा, एकीकृत माओवादीको खेलकुद विभाग प्रमुख एवम् पूर्व मन्त्री कमला रोक्का, पर्यटन ब्यवसायी कृष्ण अर्याल लगायतले आपसी समन्वयको अभावका कारण पर्यटकीय खेलको विकासमा असर परिरहेको बताउनुभयो ।
उक्त अवसरमा विश्व साईकल यात्री पुरस्कार शाह, समाबेशी महिला आरोही टिम लगायतलाई सम्मान समेत गरिएको थियो ।