12 Sep, 2023
८औं पर्वतीय खेलकुद महोत्सव आगामी फागुन तेस्रो साता हुने भएको छ। सोमबार आयोजित पत्रकार सम्मेलनमा माउन्टेन स्पोर्ट्स फेडेरेसनले महोत्सव फागुन २० गतेबाट सुरु हुने जानकारी गराएको हो।
गण्डकी प्रदेशमा हुने यस महोत्सवमा १५ विधाका खेलकुद प्रतियोगिता सञ्चालन हुनेछन्। प्रतियोगितामा परम्परागत धनुषबाण (आर्चरी), ठेलो, क्यानोनिङ, रक क्लाइम्बिङ, क्यानोइङ, साइक्लिङ, प्याराग्लाइडिङ, क्रस–कन्ट्री दौड, मोटर स्पोर्ट्स, टग अफ वार, रिङ रेस्लिङ, घोडादौड, ट्राइएथलन, गल्फ र स्केटबोर्डिङ लगायतका खेल समावेश हुने फेडेरेसनले जनाएको छ।
महोत्सवको व्यवस्थापनका लागि सम्बन्धित खेल संघका प्रतिनिधिहरु सहित १७ सदस्यीय आयोजन समिति गठन गरिएको छ। साथै, गण्डकी प्रदेशका सांसद तथा फेडेरेसनका प्रदेश संयोजक इन्द्रधारा बिष्टको संयोजकत्वमा ६ सदस्यीय सचिवालय कार्यदल गठन गरिएको छ। सो कार्यदलमा लक्की क्षेत्री, बसन्त दवाडी, केशव पाठक, दिपक बहादुर गोदार र प्रतिमा गैरे रहेका छन्।
आयोजकका अनुसार, महोत्सवले कोभिड–१९ ले असर पारेको पर्यटन क्षेत्रलाई पुनर्जीवित गर्न तथा नेपालमा पर्वतीय खेलकुदको विकास गर्न महत्वपूर्ण भूमिका खेल्नेछ। सन् २०१३ मा स्थापना भएको माउन्टेन स्पोर्ट्स फेडेरेसनले नेपाललाई माउन्टेन स्पोर्ट्सको हबको रूपमा स्थापित गर्ने लक्ष्यसहित परम्परागत, साहसिक र पर्यटकीय खेलकुदमार्फत दिगो पर्यटन प्रवर्द्धन गर्दै आएको छ।
महोत्सवको आयोजनाका लागि अनुमानित १ करोड ८८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ, जसका लागि राष्ट्रिय खेलकुद परिषद्, गण्डकी प्रदेश सरकार, स्थानीय सरकार र विभिन्न प्रायोजक संस्थाबाट सहयोग प्राप्त हुने फेडेरेसनले जनाएको छ।